भिडियो सहित हेर्नुहोस !
Advertisement
श्रीमान् बित्नुभन्दा पहिला लिली थापालाई बिजुली र धाराको बिल तिर्नुपर्छ भन्ने पनि थाहा थिएन । घरमा आएका एकजना पाहुनाले ‘यो घरको पानी र बिजुलीको बिल कति उठ्छ ?’ सोधेपछि बल्ल उनले थाहा पाइन् । काठमाडौँ, बालुवाटारस्थित एकल महिला समूहकी संस्थापक हुन्, लिली । भन्छिन्, ‘बुबा आर्मीमा हुनुहुन्थ्यो । ब्यारेकमै हुर्किएँ म । आर्मीका डाक्टरसँग बिहे भयो । उहाँको पोस्टिङ जता–जता हुन्थ्यो, त्यता–त्यता गइन्थ्यो ।’शान्ति सेनाको लागि इराक गएका उनका श्रीमान् त्यहाँबाट फर्केनन् । उनको इराकमै निधन भयो । त्यतिबेला लिली २९ वर्षकी थिइन् । तीन छोरा अतुप, अनुल र अमुन साथमा थिए । ‘श्रीमान् बित्दा जेठो १०, माइलो नौ र कान्छो तीन वर्षको थियो,’ उनी भन्छिन् । त्यो बेला लिली एउटा स्कुल चलाउँथिन् ।
त्यसपछि आफ्ना संघर्षका दिन सुरु भएको उनी बताउँछिन् । ‘मेरो श्रीमान् जेठो छोरा हुनुुहुन्थ्यो । उहाँमुनि दुईजना भाइ थिए,’ उनी भन्छिन्, ‘श्रीमान्को नामको सम्पत्ति आफ्नो नाममा ल्याउन निकै संघर्ष गरेँ, ‘भर्खरकी छे, सम्पत्ति त्यसको नाममा गरे पोइल जान्छे’ भन्ने पनि थिए त्यतिबेला ।’
श्रीमान् नभएको भनेर सबैले आफूलाई घेरा हाल्न थालेपछि आफू एकदमै आश्रित भएको अनुभव गर्न थालेको लिली बताउँछिन् । तर, घेरामा बाँधिन उनलाई असह्य भयो । ‘विशालनगरमा जग्गा थियो, एक्लैले आँट गरेर घर बनाएँ,’ उनी भन्छिन्, ‘झ्यालै नहालेको घरमा सरेँ । सबैले ‘एक्लै बस्नुु हुँदैन’ भन्थे, छोराछोरीको भविष्यका लागि लड्न अगाडि बढेँ, पछाडि कहिल्यै हटिनँ, समाजसँग कहिल्यै डराइनँ । जिन्दगीलाई आफूले चाहेको बाटोमा डो¥याउन हिम्मत गरेँ । हिम्मत नै सबथोक हो ।’
उनले समाजशास्त्रमा स्नातकोत्तर गरिन् । श्रीमान् बितेको चार वर्षपछि छात्रवृत्तिमा ‘वुमन स्टडिज’ पढ्नका लागि स्विडेन गइन् । ‘दुई छोरालाई होस्टेलमा राखेँ, सानो छोरालाई माइतीमा आमासँग छाडेर गएँ, बच्चाहरूलाई छाडेर जाँदा ‘होम सिक’ हुन्थेँ, तर ‘मैले पढ्नुपर्छ’ भन्ने लाग्थ्यो, मेहनत गरेर पढेँ र प्रथम पनि भएँ,’ उनी ।भन्छिन् ।
नेपाल फर्केपछि लिली आफ्नो करिअर बनाउनतिर लागिन् । पहिलाको स्कुल छँदै थियो । त्यहीँबाट उनले नयाँ कामको सुरुवात गरिन् । ‘आफूजस्तै एकल महिलाका लागि काम गर्नुपर्छ भन्ने लाग्यो,’ उनी भन्छिन्, ‘साताको एक दिन स्कुलमा एकल महिला भेला पार्थें । उनीहरूसँग दुःखसुख बाँड्थेँ । उनीहरूका कुरा सुनेपछि म मात्रै दुःखी होइन अरू महिला पनि दुःखी र पीडित रैछन्, मैले आफ्ना लागि मात्र नभई अरूका लागि पनि केही गर्नुपर्छ भन्ने लाग्यो ।’ यही सोचले लिलीलाई एकल महिला समूहको स्थापना गर्न प्रेरित ग¥यो । अहिले यस संस्थामा देशभरिका हजारौँ एकल महिला आबद्ध छन् ।
एकल महिलामाथि समाजले बढी चियोचर्चो गर्ने लिलीको अनुभव छ । ‘कामको सिलसिलामा बिहानै घरबाट हिँड्थेँ, कहिलेकाहीँ बेलुका मात्र घर पुग्थेँ,’ उनी भन्छिन्, ‘‘भर्खरकी छ ढिलासम्म कहाँ गएर आउँछ ?’ भनेर धेरैले चासो राख्थे । यस्ता कुरा सुन्दा साह्रै नरमाइलो लाग्थ्यो, तर बच्चाको अगाडि रोएर मैले कहिल्यै आफ्नो दुःख देखाइनँ । ‘तिमीहरूका लागि आमाबुबा मै हुँ’ भनेर देखाउन कठोर बनेँ ।’

अहिले उनका तीनै छोरा ‘सेटल्ड’ भइसके । ‘जेठोले मार्केटिङ कम्पनी खोलेको छ, माइलो छोरा अमेरिकामा छ, कान्छो व्यापार गर्छ,’ उनी भन्छिन्, ‘सिंगो परिवारलाई सँगै लैजानु सानोतिनो कुरा होइन, त्यसका लागि महिला आर्थिक रूपमा मात्र नभई मानसिक रूपमा पनि बलियो हुनुपर्छ ।’
(नागरिक परिवारबाट साभार)
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 Response to "निडर लिली"
Post a Comment