लुम्बिनी अञ्चलकी एक्ली मेयर उम्मेदवार प्रतिक्षा

भिडियो सहित हेर्नुहोस !
Advertisement


पाल्पा— आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि लुम्बिनी अञ्चलमै एक्ली नगर प्रमुख उम्मेदवार बनेकी छिन् प्रतिक्षा सिंजाली। तानसेन नगर प्रमुखमा उम्मेदवार बनेकी प्रतिक्षा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी हुन्।

जिल्लामा राजनीतिक दलहरुको सहकार्यले महिलाहरु ओझेल परिरहेको समयमा उनको उम्मेदवारीले महिला तथा लक्षित वर्गमा चासोको विषय बनेको छ। दश स्थानीय तह रहेको पाल्पामा उनी दलहरुकी एक्ली प्रमुख पदकी महिला उम्मेदवार हुन्। उच्च माध्यमिक शिक्षासम्मको अध्ययन गरेकी सिंजाली २०६२/६३ को जनआन्दोलन पछि राजनीतिमा सक्रिय भएकी हुन्। नगरको खानेपानी, सडक, ढल, पर्यटनलाई प्रमुख प्राथमिकता दिएर ३९ वर्षीय सिंजाली निर्वाचनमा होमिएकी हुन्।

दलहरुको तालमेल (सहकार्य) ले जिल्लाका मुख्य दलका महिला पछाडि परेका छन्। जिल्लाको अन्य कुनै पनि तहमा प्रमुख नपाएका महिला सहकार्यले उपप्रमुख पद पनि महिलाले नपाउने निश्चित भएको छ। जिल्लाको रिब्दीकोट, माथागढी र वगनाशकाली गाउँपालिका प्रमुख तथा उपप्रमुख दुवै पदमा महिला वञ्चित भएका हुन्। निर्वाचनमा गाउँ-नगर प्रमुख तथा उपप्रमुख मध्ये एक पदमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था भए पनि दलहरुको सहकार्य हुँदा महिला अनिवार्य नहुँदा महिलाहरु उम्मेदवारीबाटै बञ्चित भएका हुन्।

रिब्दीकोटमा भएको माओवादी केन्द्र, राप्रपा र राष्ट्रिय जनमोर्चाको तालमेलले अध्यक्ष उपाध्यक्ष दुवैमा पुरुष उम्मेदवार छन्। यहाँ माओवादी केन्द्रका लिलाबहादुर कार्की अध्यक्ष र राप्रपाका भोजीन्द्र बहादुर केसी (कुवँर) ले उपाध्यक्षमा उम्मेदवारी दिए। उपाध्यक्षमा मिरा रानालाई माओवादीले र गनु बगालेलाई जनमोर्चाले उम्मेदवार बनाउने निर्णय तालमेल पछि परिवर्तन गरियो। वगनाशकालीमा कांग्रेस र माओवादीबीच तालमेल छ। कांग्रेसका कृष्णप्रसाद बस्याल र माओवादीका कृष्णप्रसाद भुषालले अध्यक्ष र उपाध्यक्षमा तालमेल गरि उम्मेदवारी दिँदा कागं्रेसकी उपाध्यक्षकी उम्मेदवार पेमा चिदीमगर र माओवादीकी शान्ता न्यौपानेले उम्मेदवारी दिन पाईनन्।

निस्दीमा पनि कांग्रेस र माओवादी केन्द्रबीचम तालमेल छ । कांग्रेसका शालिकराम पाण्डेले अध्यक्ष र माओवादीका उपाध्यक्ष उम्मेदवार बलु गैरेले तालमेल गरि उम्मेदावारी दिए। उपाध्यक्षमा दुई पार्टीबाट नाम सार्वजनिक भएका राममाया सोमै ईन्द्रमाया सुनारीले उम्मेदवारी दिएनन्। उपाध्यक्षमा नाम सार्वजनिक महिलाहरुले आफुले लामो समयदेखीपछिको निर्वाचन शान्तिपूर्ण र मर्यादित बनाउन पार्टीको यो कुरालाई मानेको बताएका छन्।

जिल्लाका दश स्थानीय तह प्रमुखमा ५१ पुरुषको उम्मेदवारी पर्दा ५ जना महिला उम्मेदवार छन्। उपप्रमुखमा ८ पुरुष र ३९ महिलाको उम्मेदवारी परेको हो। चार सय २५ जनप्रतिनिधीका लागि १ हजार ३ सय ३ जनाले उम्मेदवारी दिएका छन् । जिल्लामा ७ सय ८८ पुरुष र ५ सय १५ महिला चुनावी मैदानमा उत्रिएका छन् ।

दुई दलित महिला सदस्य निर्वीरोध

नेकपा एमालेका दुई दलित महिला सदस्य निर्बिरोध निर्वाचित भएका छन् । जिल्लाको निस्दी गाउँपालिका–३ की कुमारी विक र पूर्वखोला गाउँपालिका–४ की लक्ष्मी विक निर्बिरोध भएका हुन् ।

आठको उम्मेदवारी फिर्ता

तानसेन नगरपालिकाका दुई, रम्भा गाउँपालिकाका तीन र माथागढी गाउँपालिकामा उम्मेदवारी मनोनयन गरेका तीन जनाले मनोनयन फिर्ता लिएका छन्। माथागढीमा राप्रपाबाट अध्यक्षमा मनोनयन गरेकी बिष्णुदेवी सोमै, उपाध्यक्षकी वेदकुमारी थापा र स्वतन्त्रबाट वडा नं. २ मा अध्यक्षमा उम्मेदवारी दिएकी भागीरथ भट्टराईको मनोनयन फिर्ता भएको मुख्य निर्वाचन अधिकृत भरतमणी खनालले बताए।


रम्भामा स्वतन्त्रबाट सदस्य उम्मेदवारी दिएका शान्तिदेवी सिंजाली, गम्भीरसिंह सिँजाली र धनबहादु चिदीको पनि मनोनयन फिर्ता भएको छ। तानसेन नगरपालिकामा राप्रपाकी सदस्यमा उम्मेदवारी दिएकी मुना सार्की र माओवादी केन्द्रका सदस्य उम्मेदवार बिष्णुप्रसाद अधिकारीले उम्मेदवारी फिर्ता लिएका हुन्।मेयर प्रत्यासी प्रतीक्षा सिंजाली। तस्विर : मुक्तिप्रसाद
भिडियो सहित हेर्नुहोस !
Advertisement

0 Response to "लुम्बिनी अञ्चलकी एक्ली मेयर उम्मेदवार प्रतिक्षा"

Post a Comment